संखुवासभाका ७ पालिकामा सत्तारुढ दलहरुले गठबन्धन गर्ने

न्युजलय ११ बैशाख २०७९, आइतबार ०१:०० मा प्रकाशित

संखुवासभा । सत्तारुढ दलहरुले संखुवासभाको सातवटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका छन् । शनिबार जिल्लामा रहेका १० मध्ये ७ पालिकामा गठबन्धन गर्ने निर्णय गरेका हुन् ।


पालिकामा गठबन्धन गर्दा नेपाली काङ्ग्रेसले ५, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले १ पालिकाको नेतृत्व पाएका छन् ।

 

नेपाली काङ्ग्रेस जिल्ला समितिले वैशाख २ गते माओवादी केन्द्रसँग गठबन्धन नगर्ने बताएको थियो । तर केन्द्रको निर्देशनपछि सात पालिकामा गठबन्धन भएको हो ।


गठबन्धन गर्दा नेपाली काङ्ग्रेसले खादबारी, पाचखपन, चैनपुर, धर्मदेवी नगरपालिका र सभापोखरी गाउँपालिका अध्यक्ष पाएको छ । माओवादी केन्द्रले मादी नगरपालिका प्रमुख र नेकपा एकिकृत समाजवादी पार्टीले भोटखोला गाउँपालिकाको अध्यक्ष पाएको छ ।

 

चैनपुर र खादबारी नगरपालिकाको उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ । पाँचखपन उपप्रमुख र सभापोखरी गाउँपालिका उपाध्यक्ष नेकपा एकिकृत समाजवादी पार्टीले पाएका छन् ।


माओवादी र नेकपा एकिकृत समाजवादीले पाएको पालिकाको उपप्रमुख नेपाली काङ्ग्रेसले पाएको छ ।


मकालु, चिचिला र सिलिचोङ गाउँपालिकामा भने प्रतिस्पर्धा गर्ने गठबन्धनमा रहेका दलहरुले निर्णय गरेका छन् ।