बालिका हत्यामा संलग्न आरोपित सावर्जनिक

न्युजलय १५ फाल्गुण २०७८, आइतबार १०:१४ मा प्रकाशित

मोरङ । लेटाङमा हत्या गरिएकी १२ वर्षीया बालिकाको हत्यामा संलग्न एक जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले सावर्जनिक गरेको छ।

विराटनगरस्थित कार्यालयमा आइतबार(आज) आयोजित पत्रकार सम्मेलनका क्रममा नाबालिका हत्या प्रकरणमा लेटाङ–८ का ६४ वर्षीय दीपक गिरीलाई सावर्जनिक गरीएको हो।

नगरपालिका–८ स्थित ज्यामिरेकी जाँते उच्च माविमा कक्षा ६ मा अध्ययनरत बालिकालाई फागुन ११ गते बेलुका करिब साढे चार बजे विद्यालयबाट घर फर्कने क्रममा जंगलमा बलात्कार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । 

जंगलको बाटो घर फर्कंदै गर्दा बालिकालाई पछ्याउँदै गएका गिरीले सुरुमा बालिकासमक्ष शारीरिक सम्पर्कका लागि प्रस्ताव गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सो क्रममा बालिकाले नमानेपछि गिरीले बालिकालाई बलात्कार गरी कसैलाई नभन्न चेतावनी दिएका थिए। सो क्रममा नाबालिकाले बुबालाई भनिदिन्छु भन्दै दौडिएपछि गिरीले पछ्याउँदै लडाएर घाँटी र मुख थुनेर हत्या गरेको गिरीले स्विकारेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरी प्रमुखले बताए।

यसक्रममा गिरीले बालिकाको हत्या गरी उनको सबै कपडा र जुत्तासमेत आफैले घरको पछाडि खोल्सीमा जलाएका थिए।