सगरमाथामा फहराइयो जाम्बियाको झण्डा

न्युजलय ११ जेठ २०७९, बुधबार ०३:२९ मा प्रकाशित

काठमाडौ । विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ ।


नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि सगरमाथामा जाम्बियाको झण्डा फहराइएको जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूत देशबन्धु बस्नेतले जानकारी दिए । 


नेपाली पर्वतारोही फुर्वा ओङगेल शेर्पाले गत जेठ १ गते बिहान ४ बजेर ५८ मिनेटमा सगरमाथामा पाइला टेकेका थिए । दुई देशबीच द्विपक्षीय व्यापार र द्विपक्षीय सम्बन्ध सुदृढीकरणका लागि ध्यानाकर्षण गर्न झण्डा फहराइएको बस्नेतले बताए ।


नेपाल र जाम्बियाले १० सेप्टेम्बर १९८६ मा कूटनीतिक सम्बन्ध स्थापित गरेका हुन् । नेपाल र जाम्बिया संयुक्त राष्ट्रसंघ, एनएएम, जी–७७, र डब्ल्यूटीओमा सँगसँगै सदस्य रहेका छन् । दुबै देशहरू कम विकसित र भु परिवेश्ठित हुन् । दुवैले विश्वव्यापी विकास सहयोग र साझेदारीको धेरै एजेन्डामा समान धारणा व्यक्त गर्दै आएका छन् । दुबै मुलुकले संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा योगदानसमेत पुर्याइरहेका छन् । यतिधेरै समानताका बाबजुद हालसम्म नेपाल र जाम्बियाबीच द्विपक्षीय व्यापारको आकार भने अत्यन्त सानो छ । 


जाम्बियाको राजनीति स्थिर छ । अफ्रिकी मुलुकहरुमा यो देश सुरक्षित र प्रजातान्त्रिक छ । सुन, हिरा, पन्ना, निलम, तामा जस्ता खनिज पदार्थका ठूला ठूला खानीका साथै कृषि तथा पर्यटनको प्रचुर सम्भावनालाई जाम्बियाले पनि नेपालजस्तै विकास गरिरहेको छ ।