काठमाण्डौ । सत्तारुढसहित विभिन्न आठ विद्यार्थी संगठनले विद्यार्थीसँग मनपरी शुल्क लिने काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरको सम्बन्धन खारेज गर्न माग गरेका छन्।
नेविसंघ, अनेरास्ववियू र अखिल क्रान्तिकारीसहित आठ विद्यार्थी संगठनले संयुक्त वक्तव्य निकालेर कांग्रेस नेता सुनिल शर्मा सञ्चालक रहेका दुवै कलेजको सम्बन्धन खारेजी अघि बढाउन माग गरेका हुन्।
आइतवार बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकपछि गैह्रकानूनी र गुण्डागर्दी शैलीमा विद्यार्थी लुट्ने काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरिएको जानकारी पनि अनेरास्ववियूले जनाएको छ ।
एमबीबीएस, बीडीएस र बीएनसका विद्यार्थीहरूबाट गैरकानुनी र गुण्डागर्दी शैलीमा विभिन्न बहानामा अतिरिक्त शुल्क नलिन र चर्को मूल्यमा नियम विपरीत छात्रावासलाई अनिवार्य बनाउने निर्णय खारेज गर्न संगठनहरुले माग गरेका छन् ।
सत्तारुढ दलनिकट विद्यार्थीहरुले चरणवद्ध आन्दोलन पनि घोषणा गरेका छन्। उनीहरुले सोमबार काठमाण्डौं विश्वविद्यालयसँग छलफल गर्ने भएका छन्।
मंगलबार जिल्ला प्रशासनसँग छलफल गर्ने तयारी छ। बुधबार संयुक्त विरोध प्रदर्शन तय गरिएको छ।
त्यस्तै चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयसँग केएमसी र नोबेल मेडिकल कलेजका एमबीबीएस, बीडीए र बीएनएसका विद्यार्थीलाई वैकल्पिक अध्ययनको व्यवस्था गर्नेबारे पनि विद्यार्थीले कुरा उठाउने भएका छन्।
उनीहरुले केएमसी र नोबेल मेडिकल कलेजको सम्बन्धन खारेजी प्रकृया अगाडि बढाउन पनि गठबन्धन सरकारसँग माग गरेका छन्।
विद्यार्थीहरुले सोमबार पनि सिनामंगलस्थित केएमसी अगाडि प्रदर्शन गरेका छन्।