न्यौपानेले फिर्ता लिएपछि सभापतिमा पाँच उम्मेदवार

न्युजलय २६ मङ्सिर २०७८, आइतबार ०७:२० मा प्रकाशित

काठमाण्डौ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका एक जनाले फिर्ता लिएका छन्।

सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेले फिर्ता लिएका हुन्। उम्मेदवारी फिर्ता लिन आइतबार १२ः३० बजेसम्मको समय तोकिएको थियो।

उनले आफ्नो समर्थन सभापतिका पदका उम्मेदवार डा.शेखर कोइरालालाई रहेको जनाएका छन्। न्यौपानेले उम्मेदवारी दर्ता गराउँदा २८ बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए। त्यसमा उठाएका सबै विषयलाई डा.कोइरालाले आत्मसाथ गर्ने प्रतिबद्धता जनाएकाले उनलाई समर्थन गरेको न्यौपानेको भनाइ छ।

अब कांग्रेस सभापतिको प्रतिस्पर्धामा पाँच जना उम्मेदवार छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, डा. कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुनेछ।

कांग्रेस केन्द्रीय कार्यसमिति चयनका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुने कार्यसूची रहेको छ।