चार देशीय टी २० सिरिज : नेपालद्वारा ओमान ६ विकेटले पराजित

न्युजलय २९ माघ २०७८, शनिवार ०१:३८ मा प्रकाशित

काठमाडौं । चार देशीय अन्तर्राष्ट्रिय टि २० सिरिजअन्तर्गत आफ्नो खेलमा नेपाल विजयी भएको छ ।

 

नेपालले शुक्रबार सम्पन्न खेलमा आयोजक ओमानमाथि ६ विकेटको जित हात पारेको हो ।


१३६ रनको लक्ष्य नेपालले तीन बल बाँकी छँदा चार विकेट गुमाउँदै पूरा गर्यो ।


नेपालका लागि दिपेन्द्रसिंह ऐरीले अविजित ७३ रनको योगदान दिए । ५३ बलको सामना गरेका उनले ८ चौका र छक्का प्रहार गरे ।

 

आरिफ शेखले २५ र आसिफ शेखले १४ र ज्ञानेन्द्र मल्लले १३ रन जोडे ।


ओमानका लागि कलिमउल्लाहले २ तथा कन्वर अलीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।


यसअघि अल अमिरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।


ओमानका लागि कप्तान जिशन मक्सुदले अविजित ४३ रनको योगदान दिए । मोहम्मद नदिमले ३१ र जितेन्द्रर सिंहले १३ रन बनाए ।


खराब सुरुवात गरे पनि पाँचौ विकेटका लागि मक्सुद र नदिमले ६१ रनको महत्त्वपूर्ण साझेदारी गर्दै ओमानको पारी उकासेका थिए ।


नेपालका लागि अविनाश बोहराले तीन तथा कमलसिंह ऐरी,आरिफ शेख र कप्तान सन्दीप लामिछानेले एक(एक विकेट लिए ।


आफ्नो दोस्रो खेलमा शनिबार नेपालले युएई तथा ओमानले आयरल्यान्डको सामना गर्नेछन् ।