सप्तरी । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको तिरहुत गाउँपालिका ५ का २७ वर्षिय राजकुमार मेहता, सोही वडाका १९ वर्षिय सिन्दु सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ का २५ वर्षिय बैजु साह रहेका छन् ।
बिहीबार मध्यरातमा पक्राउ परेका उनीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो ।
प्रहरी उपरिक्षक अविनारायण काफ्लेका अनुसार बिहीबार राती १२ बजेतिर छिन्नमस्ता गाउँपालिका १ बरहीस्थित पूर्वपश्चिम कोशी कनाल पम्प नहरको बाटोमा चेकजाच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २३प २७७३ नम्बरको मोटरसाइकलमा चढेका उनीहरुमाथी शंका लागि चेकजाच गर्दा प्रतिबन्धित लागुऔषध डाइलेक्स डिसि एक सय एमएल १ सय ९० बोतल, डाइजेपाम २ एमएलको सुई, फेनारगन २ एमएलको सुई र लेजेसिक २ एमएलको सुई ९५÷९५ का दरले बरामद गरिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।
पक्राउ परेका सबैलाई शुक्रबार नै सप्तरी जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थपि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।