हावाहुरीको कारण चितवनमा तीन जनाको मृत्यु

न्युजलय ७ जेठ २०७९, शनिवार ०२:५० मा प्रकाशित

चितवन । शुक्रबार साँझ चितवनमा आएको भिषण हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ। केही घाइते भएका छन्।

हावाहुरीको कारण ढलेको रुखले च्यापिँदा भरतपुरका दुई छुट्टाछुट्टै ठाउँमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

जंगल क्षेत्रमा ढलेको रुखमा च्यापिएर ना २ ह २२४७ नम्बरको अटोमा सवार दुई जनाको मृत्यु भएको छ भने अटोमा सवार दुई महिला घाइते भएका छन्। उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी हावाहुरीले भाँचिएको रुखले च्यापिँदा भरतपुर ११ बसेलीमा पनि एक जनाको मृत्यु भएको छ। 

सडकमा गुडिरहेको ना १ ज ६१४० नम्बरको म्याजिक ढलेको रुखले च्यापिँदा त्यसमा सबरा स्थानीय ४८ वर्षीय लोकनाथ न्यौपानेको मृत्यु भएको हो ।