सुनसरीमा हिन्दु–मुस्लिम समुदायबीचको तनाव चर्कियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

न्युजलय १२ साउन २०८३, मङ्गलबार ०२:१४ मा प्रकाशित

सुनसरी । सुनसरीमा हिन्दु–मुस्लिम समुदायबीचको तनाव चर्किएको छ । आन्दोलनका कारण इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । 

जिल्लाका विभिन्न स्थानमा हिन्दु समुदायका प्रदर्शनकारी हिन्दु बहुल क्षेत्रमा र मुस्लिम समुदायका प्रदर्शनकारी मुस्लिम बहुल क्षेत्रमा सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन् । 

आन्दोलन नेतृत्वविहीन रूपमा फैलिएकाले सुरक्षा निकायलाई स्थिति नियन्त्रणमा लिन चुनौती थपिएको जनाइएको छ ।

स्थिति नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको व्यापक परिचालन गरिएको भए पनि अधिकांश क्षेत्रमा तनाव कायमै रहेको  छ।

स्थानीय प्रशासनले आन्दोलनरत दुवै पक्षलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।

देवानगञ्ज–३ को कप्तानगञ्जबाट सुरु भएको तनाव अहिले जिल्लाका विभिन्न क्षेत्रमा फैलिँदै गएको छ । प्रशासनले नागरिकलाई संयमित रहन, कुनै पनि अपुष्ट सूचना सामाजिक सञ्जालमा नफैलाउन तथा शान्ति कायम गर्न सहयोग गर्न अनुरोध गरेको छ ।