झारफुकको नाममा धामीझाँक्रीले कुटपिट गर्दा कञ्चनपुरमा एक महिलाको मृत्यु

न्युजलय ४ बैशाख २०७९, आइतबार ०१:०३ मा प्रकाशित

कञ्चनपुर । धामीझाँक्रीको कुटपिटबाट कञ्चनपुरको वेदकोट नगरपालिकामा एक महिलाको ज्यान गएको छ । धामीझाँक्रीद्वय धर्मानन्द भट्ट र नारायणदत्त भट्टले झारफुकका नाममा गएराति सरिया तताएर कुटपिट गर्दा वेदकोट नगरपालिका ६ मुसेपानीका ४२ वर्षकी रञ्चुला साउँदको ज्यान गएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए । झारफुककै क्रममा साउँदको गएराति ज्यान गएको र आज बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो । प्रहरी उपरीक्षक चौधरीले झारफुकमा संलग्न दुवै जनालाई पक्राउ गरिएको र महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको बताए ।


वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरे ।