डब्लुएचओका महानिर्देशक आज नेपाल आउँदै

न्युजलय ८ बैशाख २०७९, बिहिबार ०१:१५ मा प्रकाशित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदै छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।


डब्लुएचओका महानिर्देशक गेब्रेयसस आज मध्यान्ह १२ः२५ बजे नेपाल आइपुग्ने छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनको नेपाल भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा.पूनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारी पनि सहभागी हुनेछन् । 


नेपाल भ्रमणमा रहँदा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।   


यस्तै, उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग पनि भेट गर्ने परराष्ट्रले जनाएको छ ।