काठमाडौं । गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘विभिन्न जिल्लाहरुबाट जारी भएका नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना तथा जानकारीहरु प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गरेका थिए। राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाएका थिए।
दूरदराजका दलित समुदायका व्यक्तिहरूको नाम तत्कालीन प्रशासनले बिगारिदिएको भन्दै उनीहरूको नाम सच्याउन गृहमन्त्रीसँग माग गरेका थिए। सांसद सुनारले यस्तो त्रुटिहरूको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरूलाई पनि आग्रह गरे।