काठमाडौं । सोमबार नेप्से सूचक २३.६४ अंकले घटेर १९०८.०४ विन्दुमा झरेको छ । कारोबार रकम ९२ करोड रुपैयाँमा सिमित बनेको छ ।
गएको साता बजार एकै दिन ९२ अंकभन्दा बढीले वृद्धि भएको थियो । एकै दिन बढेको बजारको बिक्री प्रभाव सकिएपछि नेप्सेले पुनः गति लिने अनुमान गरिएको छ ।
ट्रेडरले बढेको बेला बेचिहाल्ने अनि भाउ अलि सस्तो भएपछि मात्र बजार प्रवेश गर्ने भएकाले पनि सूचक बढी प्रभावित भएको अनुमान गरिएको छ । बजार वृद्धिका लागि पछिल्ला दिनहरुमा केही मुख्य आधारहरु बनिरहेका छन् । ब्याजदर घटेको छ भने तरलता सहज हुँदै गएको छ । तर ब्याज महँगो भएकाले अहिले पनि कर्जा प्रवाह हुन सकेको छैन ।
त्यसो त हाम्रो सेयर बजार पनि बियरिस जोनमा गएको करिब २० महिना भइसकेको छ । यसबीचमा लगानीकर्ताले खरबौं सम्पति गुमाएका छन् । तर अब भने अवस्था अलि परिवर्तन हुँदैछ । अर्थतन्त्रका सूचकहरुमा सकारात्मक संकेत देखिएकोले बजार चाँडै बढ्ने अनुमान गरिएको छ ।
नयाँ वर्षको आगमनसँगै धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स खुला गर्दैछ । नयाँ ब्रोकर थपिएपछि गाउँगाउँसम्म सेवा विस्तार हुने र सोही अनुसार नयाँ लगानीकर्ताको प्रवेश हुने अनुमान गरिएको छ ।