१८६६ अंकमा ओर्लियो सेयर बजार

न्युजलय २१ चैत २०७९, मङ्गलबार ०९:०८ मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज) सेयर बजारको परिसूचक नेप्से १८६६ अंकमा ओर्लिएको छ । 

सेयर बजार ५.२ अंक घटेर १८६६ अंकमा कायम भएको हो । अघिल्लो दिन पनि १६ अंकले बजार घटेको थियो ।

कारोबार रकम भने १ अर्ब पनि पुगेन । ९१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भयो । यसअघि सोमबार ९२ करोडको कारोबार भएको थियो । ८६ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने १५ को स्थिर रहृयो । 

बैंकिङ ५, जीवन बीमा ८०, निर्जीवन बीमा ११९ र अन्य उपसमूह सूचक ४ अंक घटे । विकास बैंक १०, फाइनान्स २, होटल तथा पर्यटन ३, जलविद्युत् ४, लघुवित्त ७, ब्यापार उपसमूह सूचक ३ अंक बढे ।

सबैभन्दा धेरै कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो भने ग्लोबल आईएमई लघुवित्तको ७.७ प्रतिशत बढ्यो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो । 

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, हिमालयन बैंक र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।