एक भारतीयको हत्या गर्ने उदयपुरका थापा पक्राउ

न्युजलय ११ फाल्गुण २०७८, बुधबार ०१:२२ मा प्रकाशित

मोरङ । भारत राजस्थानका ५० वर्षीय राम किसन मिणाको हत्या गरेको अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भनिने कमल बिकलाई प्रहरीले पक्राउ गरेको छ । 


बिकले मिणालाई लेनदेनको विषयमा बादबिबाद हुँदा हत्या गरी उदयपुरको श्रृष्टी जंगलमा फालेको प्रहरीले जनाएको छ । 

 

मोरङ कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधीन पुलमा पायलिङ मेशिनको काम गर्दै आएका मिणा गत माघ २६ गतेदेखि सम्पर्कबिहीन भएपछि प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीले खोजी गर्ने क्रममा फागुन ७ गते उक्त जंगलमा उनको शव फेला परेको थियो ।  


बिआर ०१ बिसि ५६९७ नम्बरको गाडीमा दुवैजना वीरगञ्ज गएका र माघ २५ गते फर्किएर बिकको घर कटारी जाँदै गर्दा बाटोमा लेनदेन सम्बन्धी बिबाद भएको थियो । मादक पदार्थ सेवन गरेका बिकले मिणाको घाँटीमा केबल तारले कसेर हत्या गरेको र शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारीबाट ३० किलोमिटर माथि जंगलमा लगि फालिदिएको अनुसन्धानबाट खुल्न आएको छ । 

 

बिकले मृतकको मोबाइल कोशी नदीमा फाली गाडी भारतीय बजार भिमनगर लगेर वेवारिसे अवस्थामा छोडेर फर्किएको समेत अनुसन्धानबाट खुल्न आएको छ ।