विदेश त्यागेर, गाउँ बनाउन वडा अध्यक्षमा उम्मेदवारी

न्युजलय १८ बैशाख २०७९, आइतबार ०२:१४ मा प्रकाशित

इटहरी । अहिले हरेक युवाको सपना हुन्छ, विदेश जाने पैसा कमाउने, उच्च स्तरीय जिवन बिताउने । यहि सपना बोकेर युवाहरु युरोप, अमेरिका अष्ट्रेलिया जान्छन् । पढ्न गएका उनीहरु विस्तारै, कमाउन, रमाउन, जमाउन थाल्छन, अनि उतैका बासिन्दा हुन्छन् । 


खोटाङ जिल्लाको दिप्रुङ्ग चुईचुम्मा गाउँपालिकाका युवा अरुण राई पनि अष्ट्रेलिया जाने अन्तिम तयारीमा थिए । काठमाण्डौँ पढ्न बसेका उनी उतैबाट उड्ने तयारीमा थिए । तर उनले पार्टटाईम काम गर्दै गरेको संस्था घाँसी नेपालको कामले मनै विथोलियो । जनताका दैनिक सुख दुःखमा सहभागी हुँदै राजनिति गरेका अरुणको मन बदलियो । विद्यार्थी काल देखी सक्रिय राजनिति गरेका अरुणलाई विदेश उड्ने सपना भन्दा पनि आफ्नै गाउँ, लेक बेँसीको सम्झनाले तान्न थाल्यो । 


विदेश उड्न तयारी गर्दै गरेका अरुणले सोच बदले । विदेश हैन अव गाउँ फर्कन्छु । गाउँमै उकालि ओराली गर्छु । स्कुल बनाउँछु, बालबालिकालाई गुणस्तरीय शिक्षा दिन्छु । युवाहरुलाई सिप सिकाउँछु, स्वरोजगार बनाउँछु । विदेश गएकालाई गाउँमै उद्यमी बन्ने वातावरण तयार गर्छु । 


यस्तै सोचेर अरुण राई गाउँ फर्किएका छन् । अहिले स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट दिप्रुङ्ग चुईचुम्मा गाउँपालिकाकाको वडा नम्बर ७ मा वडा अध्यक्षको उम्मेद्धवारी दिएका छन् । 


वडामै गुणस्तीय शिक्षा प्रदान गर्ने,स्वास्थ्य केन्द्रबाटै चेकजाँच सहित औषधीको वितरण गर्ने, सिप विकास गर्दै युवालाई स्वरोजगार बनाउँदै विदेश पलायन रोक्ने योजना लिएर उनी अहिले गाउँका घर घर जाँदै छन् । 


कृषी र पर्यटनलाई व्यवसायीक रुपमा विकास गर्ने उनको योजना रहेको छ । बढ्दो बसाईसराई र युवाहरुको पलायन रोक्न रोजगारी सृजना गर्ने उनको योजना छ । कृषी र पर्यटनलाई व्यवसायीक रुपमा विकास गर्दै आय आर्जनको स्रोत बनाउने उनी गाउँका युवाहरुमा विश्वास दिलाईरहेका छन् । 


केही गर्छु भनी गाउँ फर्किएका यी युवालाई वडबासीहरुले विजयी बनाएर गाउँमै राख्ने हुन् वा फेरी विदेशकै बाटो देखाईदिने हुन् त्यो भने हेर्न बाँकी नै छ ।