सप्तकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

न्युजलय १८ साउन २०७९, बुधबार ०४:३५ मा प्रकाशित

उदयपुर । उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । 

सप्तकोसी नदीले कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गरेका छन् । मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उनीसँग छलफल गरिएको हो ।

विपद्मा परेकालाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।