इटहरीका सबै विद्यालयमा एउटै पोसाक, टाईको साटो टोपी

न्युजलय २६ माघ २०८०, शुक्रबार १२:५६ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले नगर भरीका सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ । 


नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा उपमहानगरले निजी र सामुदायिक विद्यालयको पोशाकमा एकरूपता ल्याउन लागेको हो । निजी विद्यालयले थरी थरीका रंगी चंगी पोशाक प्रचलनमा ल्याएका छन् । कतिपयले कमिसनको लागि एकै जना विद्यार्थीलाई ४-५ थरी पोशाक तोकिएको पसलमा किन्न लगाउने गरेका छन् । कतिपय स्कूलले भने स्कूलबाटै बेच्ने गरेका छन् । 


निर्णय लागू भएपछि इटहरीका १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय मा पढ्ने ६३ हजार ५२६  विद्यार्थी एउटै पोशाकमा विद्यालय जानेछन् ।


इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले विद्यालयमा टाई हटाएर भादगाउले टोपी लगाउने निर्णय गरेको जानकारी दिएका छन् । 


‘पोसाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो,’ उपमहानगरका प्रमुख पौडेलले भने । 


साथै उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुका छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरिएको छ ।


यस्तै विद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क वापत एक पटक लिएपछि वर्षेनी भर्ना शुल्क लिन नपाइने भएको हो ।


यस्तै विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उप महानगरपालिकाले विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री-वितरण गर्न रोक लगाएको छ ।