राहतको रकम आफन्तलाई बाँडेपछि कोशी २ की कार्यवाहक वडाध्यक्ष निलम्बित

न्युजलय १३ माघ २०७८, बिहिबार ०१:२२ मा प्रकाशित

इटहरी । अनियमितताको उजुरीपछि कोशी गाउँपालिका वडा नं २ कार्यवाहक अध्यक्षलाई निलम्बन गरिएको छ । कार्यभार वडाध्यक्षको द्रोपदी देवी साहले राहत रकम हिनामिना गरेको भन्दै उजुरी परेपछि उनलाई निलम्बन गरिएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले जानकारी दिए ।

 

साहले हिनामिना गरेको भन्दै वडा बासीहरुले लिखित उजुरी दिएका थिए। उजुरीकर्ता ब्रह्मदेव यादवका अनुसार शाहले कोरोना प्रभावित परिवारलाई दिइने रु. दश हजार आफन्त र चिनेजानेको व्यक्तिको नाममा वितरण गरिएको थियो । यस्तै सुरक्षित नागरिक आवास कार्यक्रमको ५० हजार रुपैयाँ भुक्तानी गर्दा समेत त्यसमध्येबाट ११ हजार रुपैयाँ उनले लिएको पीडितहरूको आरोप छ । 


उजुरी परेपछि निष्पक्ष छानविनका लागि भन्दै गाउँपालिकाले उनलाई निलम्बन गरेको सूचना सार्वजनिक गरेको छ । छानबिनका लागि वडा नम्बर एकका वडाअध्यक्ष राज कुमार साहको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको समेत जानकारी दिइएको छ ।