सरकारी नम्बर प्लेटको गाडीबाट गाँजा बरामद, नियन्त्रणमा लिन चार राउण्ड गोली प्रहार

न्युजलय १९ मङ्सिर २०८१, बुधबार ११:०० मा प्रकाशित

धरान । प्रहरीले सरकारी नम्बर प्लेटको गाडीबाट सात सय केजी गाँजा बरामद गरेको छ । चार राउण्ड हवाई फायर गरेर धरान १३ अमरहाटबाट गाँजा बरामद गरेको हो ।


मंगलबार साँझ ७ बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कारपिओबाट गाँजा बरामद भएको हो ।


सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाकाअनुसार प्रहरीले घटनास्थलबाट मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई पक्राउ गरेको छ । अर्को गाडीका सवारी चालक फरार भएका छन् ।


प्रहरीलाई ठक्कर दिने गरी गाडी अघि बढेपछि गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार गोली चलाएपछि बा १ झ ५१२७ नम्बरको गाडी चालक गाडी छाडेर भागेका थिए । भागेका गाडी चालकलाई नियन्त्रणमा लिन प्रहरीले नाकामा निगरानी बढाएको छ । 


पक्राउ परेका विश्वकर्मालाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थपको तयारी भइरहेको प्रहरीको भनाइ छ ।


बरामद भएका गाडीहरूमा सरकारी नम्बर प्लेट भएपनि सरकारी गाडी हुन् वा होइनन् भन्ने कुरा अनुसन्धान भइरहेको जनाइएको छ । गाडीहरूको नम्बर प्लेट न्यायिक मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडी नम्बर प्लेटसँग मिलेको छ ।