काठमाडौँ । पर्वतको कुश्मा नगरपालिका–७ स्थित मोदी खोलामा एक युवतीको शव फेला परेको छ।
कुस्मा ७ खरेहास्थित मोदी खोलामा करिब २० वर्षीया युवतीको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
ह्यापी होली लेखिएको सेतो टिसर्ट र कालो ट्र्याक लगाएकी ती युवतीको शव पोस्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ।
उनी होली खेल्न घरबाट हिँडेकी हुनसक्ने अनुमान प्रहरीले गरेको छ। उनको बलात्कारपछि हत्या भएको आशंका स्थानीयले गरेका छन्।
कसैले पनि आफ्नो मान्छे हराएको भनी प्रहरीमा जानकारी नदिँदा शवको सनाखत गर्न नसकिएको प्रहरीले जनाएको छ। उनको मृत्यु बिहीबार भएको हुन सक्ने प्रहरीको अनुमान छ।