धनगढीको एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यले दिए सामूहिक राजीनामा

न्युजलय १६ बैशाख २०७९, शुक्रबार ०१:२५ मा प्रकाशित

धनगढी । टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै धनगढीको एउटै वडाका ५७ जना कांग्रेस क्रियाशील सदस्यहरूले राजीनामा दिएका छन् ।


२०७४ को स्थानीय तह निर्वाचनमा पार्टीकै विरुद्ध बागी उम्मेदवारी दिएका बुद्धि खड्कालाई यस पटक वडा अध्यक्षको टिकट दिएको भन्दै धनगढी–४ बाट कांग्रेसका ५७ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।


राजीनामा दिनेमा २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी वडा अध्यक्ष दीपकबहादुर थापा क्षेत्री, कांग्रेसका निवर्तमान वडा सभापति अनन्तराज जोशी, पूर्व सभापति छत्र बडैला, निवर्तमान कोषाध्यक्ष इन्दिरा जोशी लगायतका नेता रहेका छन् ।


बिहीबार पत्रकार सम्मलेनको आयोजना गर्दै कांग्रेसमा विधि र पद्धति अन्य भएको र इमानदार कार्यकर्ताको आवश्यकता नरहेको ठहर गर्दै सामूहिक राजीनामा दिएको निवर्तमान सभापति अनन्तराज जोशीले बताए ।

 

आफूहरू ९९ जना क्रियाशील सदस्यलाई उपेक्षा गरी बागी उम्मेदवारलाई नै टिकट दिएकाले पार्टीमा नबस्ने निर्णयसहित सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् । वडा नम्बर–४ का पूर्वसभापति छत्र बडैलाले वडामा रहेका योग्य सदस्यलाई बेवास्ता गर्दै बागी उम्मेदवारलाई आधिकारिकता दिए पनि सबैले राजीनामा दिएको बताए ।  


वडा नम्बर–४ बाट वडा सदस्यमा सिफारिस भएकी इन्दिरा जोशीले मनोनयन गर्ने बेला आफ्नो नाममा टिपेक्स लगाएर अर्कैलाई मनोनयन गर्न लगाएको बताइन् ।