दमक । झापाको गौरादहमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय गौरादहका अनुसार आज बिहान गौरादह नगरपालिका–४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा तीव्रगतिका दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा मे ९ प २७०३ का मोटरसाइकल चालक गौरादह–५ का अन्दाजी ४० वर्षीय भानु भनिने वेणु अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।
अधिकारीले चलाएको मोटरसाइकल र मे ६ प ५४१६ नंको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीको भनाइ छ। सो दुर्घटनामा परेर ५४१६ नंको मोटरसाइकलका चालक गौरादह–५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय ललित शर्मा घाइते भएका छन्।
उनीहरु दुवै जनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।