सहकारीको प्रदेश कार्यालय इटहरीमै राख्न पहल, मन्त्रालय सकारात्मक

न्युजलय २८ फाल्गुण २०७८, शनिवार ०१:२० मा प्रकाशित

इटहरी । सहकारी कार्यालयको प्रदेश कार्यालय मर्ज गरेर इनरुवामा राख्ने भएपछि सहकारीकर्मीहरुले असन्तुष्टी जनाएका छन् । उनीहरुले प्रदेश कार्यालय इटहरीमा स्थापना हुनुपर्ने माग गरेका छन् । 


खर्च कटौती गर्नको लागि इटहरी र इनरुवाको कार्यालय मर्ज गरेर इनरुवामा स्थापना गरिएपछि सहकारीकर्मीहरुले प्रदेशको अर्थ मन्त्रालयसम्मै पुगेर इटहरीमा कार्यालय राख्न अनुरोध गरेका हुन् । 


‘कार्यालय इटहरीमा हुँदा सबैलाई सहज हुने भएकोले इटहरीमै स्थापना गर्न पहल गरिएको हो,’ केन्द्रीय सहकारी महासंघ  संचालक तथा राष्ट्रिय सहकारी वैकको संचालक अमृता सुब्बाले भनिन्, ‘मन्त्रीज्यु सकारात्मक हुनुहुन्छ ।’


अर्थ मन्त्री इन्द्रबहादुर आङ्बोले सबैलाई सजिलो हुने गरी कार्यालय राख्ने कुरामा सकारात्मक प्रतिक्रिया दिएको सुब्बाले बताइन् । केन्द्रीय सहकारी महासंघ संचालक शिव डाँगी, जिल्ला सहकारी संघका सचिव गंगा दाहाल र सदस्य मुना तिम्सिना र जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीसहितको टोली डेलिगेसन गएका थिए ।


सो क्रममा सहकारी र प्रदेशको आर्थिक अवस्थाको विषयमा समसामयिक छलफलसमेत भएको थियो । १४ जिल्लालाई नै समेटेर तालिम र सहकारीहरुको विकास गर्ने कुरामा मन्त्री आङ्बोले योजनाबद्ध काम गर्ने प्रतिबद्धता गरेका थिए ।