‘हामी महिलाहरु आफ्नो योनीमा मृत्यु बोकेर बाँचिरहेका छौँ’ : अभियन्ता सुवेदी

न्युजलय ९ चैत २०७८, बुधबार ०४:५० मा प्रकाशित

इटहरी । पछिल्लो समय प्रदेश १ मा महिला बलात्कारका घटना बाक्लिएका छन् । १८ महिने नाबालिकादेखि १४ वर्षे बालिकासम्म बलात्कारको सिकारमा पर्ने गरेका छन् । गत फागुन ११ गते मोरङ लेटाङ नगरपालिका वडा नम्बर ८ ज्यामिरेकी १२ वर्षीया करुणा राई जाँतेको जंगलमा मृत फेला परेकी थिइन् । विद्यालयबाट घर फर्कने क्रममा अबेरसम्म घर नआएपछि उनको खोजी सुरु भयो । दुई घन्टाको पैदल यात्रा गरेर विद्यालय जानुपर्ने बाध्यता उनमा थियो । बाटोमा पर्ने जंगलमा उनको शव छोपेर राखिएको थियो । प्रहरीले सोही ठाउँका ६३ वर्षीय दिपक गिरीले ‘बलात्कार गरेको र घटनालाई लुकाउन हत्या गरेर लुकाएको’ पत्ता लगायो ।

यो घटना सेलाउन नपाउँदै मोरङकै सुन्दरहरैँचा नगरपालिकामा अर्को कहालिलाग्दो घटना घट्यो । नगरपालिकाको वडा नं. ७ मा १८ महिने नाबालिका बलात्कारको सिकार भइन् । ती नाबालिका गत फागुन २७ गते साँझ साढे ५ बजेतिर घरबाट हराएकी थिइन् । घरदेखि १ किलोमिटर टाढा अर्धचेत अवस्थामा उनलाई फेला पारे । नोबलमा उपचारको क्रममा ती नाबालिकाको ज्यान गयो ।

यसको दुई दिनपछि अर्थात् फागनु २९ गते जिल्ला प्रहरी कार्यालय मोरङले दुई जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् ।

यी दुई घटना सेलाउन नपाउँदै होलीको दिन अर्थात् चैत्र ४ गते मोरङकै लेटाङ नगरपालिकामा एक शिक्षकले १४ वर्षीया छात्रालाई बलात्कारको प्रयास गरको खबर बाहिरीएपछि स्थानीय स्तरमा तोडफोड, आगजनी र प्रहरीसँग भीडन्त नै भयो । सो क्रममा एक जना महिला प्रहरीको ज्यान गयो । सो घटनामा बलात्कार आरोपित शिक्षकसँगै महिला प्रहरीको हत्यामा संलग्न आरोपमा १८ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यी समग्र घटनामा न्युजलयले महिला अभियन्ता साबित्रा सुवेदीको राय लिएका छौं । यी घटनाले पछिल्लो समय महिलाहरु असुरक्षित हुँदै गएको पुष्टि गर्ने उनको भनाई छ । त्यसमा पनि प्रदेश १ मा यस्ता घटनाहरु बढी मात्रामा हुने गरेको उनको भनाइ छ । सुनौ उनको विचार – प्रदेश १ सबैभन्दा शिक्षित प्रदेश हो । महिलाहरु आर्थिक रुपमा, सामाजिक रुपमा सवल भएको प्रदेश हो । तर, यो प्रदेशमा पछिल्लो समय महिला असुरक्षाका घटनाहरु, महिला असुरक्षाका घटनाहरुले चाहिँ तर्साइ रहेको छ । एक महिनामा नै हामीले तीन वटा बलात्कारका घटना देख्यौँ । महिलाले महिला भएर बाँच्न गाह्रो भएको छ । यी घटनाले हामीलाई यस्तो बनाइरहेको छ कि हामीले हाम्रै बाटो हिँड्दा पनि पछाडिबाट कोही आइरहेको छ कि, कतै मलाई बलात्कार गर्न आइरहेको छ कि भन्ने डर त्रासबाट बाच्नुपरेको छ ।

समग्र महिलाहरु कतिखेर बलात्कारको सिकार भइने हो भनेर डर त्रासमा बाँचिरहेका छन् । योनाङ्ग भएकै कारण महिलाहरु मृत्युवरण गर्न बाध्य छन् । यसले आफन्त, परिवार र नजिककै चिनजानकाबाट महिलाहरुले असुरक्षित महसुस गर्नुपर्ने समय आएको छ । हामी समग्र महिलाहरु आफ्नो योनिमा मृत्यु बोकेर बाँचिरहेका छौँ । पहिला पनि महिला हिंसाका घटना नभएका भने होइन्, अहिले बाहिर आउने क्रम बढेको छ । महिलाहरुका पछिल्लो समय चेतनाको स्तर बढ्दै जाँदा, हिंसालाई लुकाउनु हुँदैन भन्ने चेत खुलेकाले पनि घटना बाहिरीने क्रम बढेको हो ।

यो हिंसा हो मैले उजुरी गर्छु, उजुरी गरेपछि न्याय पाउँछु भनेर महिला हिंसाका घटना बाहिर आएका छन् । यसरी महिला हिंसाका घटना बाहिरीए पनि न्याय निरुपणमा भने अझै महिलाले सास्ति खेप्नु परेको छ ।

प्रहरी, प्रशासन, स्थानीय तहमा रहेका न्ययिक समितिमा नै महिलाले न्याय पाउने आशा मरेको छ । हिंसाका घटनामा नै राजनैतिकरण हुने गरेकोले पिडितले न्याय पाउनुको सट्टा उल्टै सास्ति खेप्नु परिरहेको छ । ‘प्रहरीको कार्यालयमा गएका सबै केशहरु दर्ता हुँदैनन् । एउटा केटी बलात्कारमा पर्यो, दुव्र्यवहारमा पर्यो, रगत चुहाउँदै प्रहरी कार्यालय जाँदा त्यहाँ सिपाइदेखि एसपीसमक्ष मलाई फलानाले बलात्कार गर्यो भनेर पटक पटक भन्नुपर्ने अवस्था छ ।

त्यहाँ महिलामैत्री वातावरण नै छैन । स्थानीय सरकार पनि महिलामैत्री छैन । उनिहरु पिडितलाई न्याय दिनभन्दा पनि उल्टै पाएभने दुव्र्यवहार गर्ने खालका छन् । प्रहरी कहाँ जाहेरी दिन जाँदा कसले, कहाँ, कसरी गर्यो, त्यो बेलासम्म के हेरेर बसेकी थिस् भन्ने खालका शब्द प्रयोग गर्ने गरेको छ ।

महिला हिंसाका घटना किनारा लगाउन पहिलो प्राथमिकता स्थानीय तहका न्यायिक समिति र न्यायिक इजासलाई दिने गरे पनि त्यसको प्रभावकारीता नै छैन । स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहको न्यायिक समितिको जिम्मेवारी उपमेयर वा उपाध्यक्षलाई दिइएको छ । नेपालका अधिकांश स्थानमा उपमेयर वा उपाध्यक्ष पदमा महिला नै छन् । तर पनि महिलाले महिलाकै समस्या समाधानमा चासो देखाइएको छैन । महिलालाई न्याय दिनको सट्टा पुरुषको गल्तीलाई सहेर मेलमिलाप गर्नुस् भन्ने दबाब महिलाहरुले खेप्नु परेको छ । श्रीमान हो कुटिहाल्छ, तैँले सहनुपर्छ, गरेर खानुपर्छ, म पनि महिला हो, मैले पनि कुटाइ खाइ खाइ यहाँ आइपुगेको हो भनेर भनिन्छ, सिकाइन्छ ।

यी सबै समस्या समाधानकोलागि महिलालाई महिला अधिकार उपभोग गराउन सिकाउनुपर्ने आवश्यकता छ । अब महिलामाथि हिंसा गर्नेलाई, बलात्कार गर्नेलाई फाँसिको सजायको व्यवस्था गर्नुपर्छ । त्यसको लागि नेपालको संविधान र कानुन सच्याउनुपर्छ ।