ललितपुरमा गाडिएको अवस्थामा तेह्रथुमका लिम्बुको शव फेला

न्युजलय २१ माघ २०७८, शुक्रबार ०१:१३ मा प्रकाशित

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका १२, धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।


मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो । त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले अर्को शव बरामद गरेको एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

 

बरामद शव तेह्रथुमका मोहन लिम्बुको भएको कुँवरले बताए । उक्त शव करिब एक महिनाअघि गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।


शव प्रमिश थापा मगरको घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा बरामद भएको हो । उक्त घर एक किन्डरगार्डेनलाई भाडामा दिइएको थियो ।  

 

यसअघि १२ माघमा मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरको बस्तीनजिक उखुबारीमा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको थियो । दुवै जना व्यवसायी भएको खुलेको थियो ।