काठमाडौं । बाँके प्रहरीले रेडपाण्डाको छाला र चरेशसहित ६ जनालाई पक्राउ गरेको छ। नेपालगञ्जको शिक्षण अस्पताल नजिकको एक होटलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा डोल्पाका शुकराम विक, विवेक बोहोरा, रामकृष्ण शाही र हर्कबहादुर विक रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६(१) बमोजिम ५ लाख देखि १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताएका छन्।
त्यसैगरी, पुष्पलाल चोकस्थित एक होटलबाट तीन किलो चरेशसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कालीकोटका प्रविण शाही र नेपालगञ्जका राज कार्की रहेका छन्। उनीहरुलाई लागूऔषध नियन्त्रण २०३३ को दफा १४ (घ) बमोजिम १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म जरीवाना हुनसक्ने डीएसपी न्यौपानेले बताए।