विराटनगर । रकम हिनामिना गरेको आरोपमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका तीनजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्पतालका ‘क्यासियर’ विराटनगर महानगरपालिका–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, सुनसरीको दुहबी नगरपालिका–१२ का २९ वर्षीय राजेशकुमार फौदार र विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वासलाई पक्राउ गरिएको मोरङ प्रहरीकाले जानकारी दिएको छ ।
उनका अनुसार तीनै जनालाई ‘क्यासियर’को जिम्मेवारी दिएर अस्पतालले नियुक्त गरेको पाइएको छ ।
अस्पतालको ‘क्यास काउन्टर’मा कार्यरत उनीहरूकै संलग्नतामा रकम अपचलन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अस्पतालले किटानी जाहेरी दिएपछि तीनै जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
बराल र फौदारलाई पुस १० गते तथा विश्वासलाई पुस १३ गते पक्राउ गरिएको हो । उनीहरूविरुद्ध आपराधिक विश्वासघात मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।