मोरङका चार फार्ममा बर्डफ्लु भेटियो

न्युजलय १७ माघ २०७८, सोमबार १०:०२ मा प्रकाशित

विराटनगर । मोरङका चारवटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ। ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो। 

ग्रामथान–१ को कृषि फार्ममा रहेका करिब ३ हजार ५०० लेयर्स कुखुरा मरेपछि नमूना परीक्षणका लागि पठाइएको थियो।

कटहरी–७ को पद्मश्री बहुउदेश्यीय कृषि फार्ममा रहेका दुई हजार बोइलरमध्ये ७ सय वटा कुखुरा मरेको र नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको बताइएको छ।  

ग्रामथान गाउँपालिका–१ स्थित १ हजार २० वटा बोइलर कुखुरा रहेको श्रीगणेश कृषि फार्ममा पनि बर्डफ्लु पुष्टि भएको छ।

बुढीगंगा–५ को रास एग्रोभेट फार्ममा रहेका परेवासमेत मरेपछि त्यसको नमूना जाँच गर्दा बर्डफ्लु पुष्टि भएको बताइएको छ। 

विराटनगरस्थित पशुपन्छी रोग प्रयोगशालामा गरिएको परीक्षणमा यी चार फार्ममा बर्डफ्लु पुष्टि भएको हो। 

फ्लु देखिएका फार्मका कुखुरा तथा पन्छीजन्य वस्तु नष्ट गर्ने कार्य शुरू भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए।