धरान । धरान १८ बुद्धचौक स्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठा नं.१०९ मा मृत फेला परेकी महिलासँगै कोठामा बसेका पुरुष धनकुटाबाट पक्राउ परेका छन् ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार पक्राउ पर्ने पुरुष धनकुटाको पख्रिबास नगरपालिका फलाटेका रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको सहकार्यमा मृतक महिलासँगै बसेका ती पुरुष पक्राउ परेको बताइएको छ ।
पक्राउ परेका पुरुषको पहिचानका लागि इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवर धनकुटा जाँदै गरेको बताए । अहिले सम्म पक्राउ परेका पुरुषको बारेमा बृस्तिृत जानकारी प्रहरीले दिएको छैन । पक्राउ परेका पुरुषलाई धरान ल्याउने तयारी भइरहेको बताइएको छ ।
गत मंगलबार धरान १८ बुद्ध चौक स्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ठ हाउसमा पाँचथरको मिक्लाजुङ १ की ३९ वर्षीय सुमित्रा तामाङ मृत फेला परेकी थिइन् । मृतकको शवको पहिचान उनकै छोराछोरीले गरेका थिए ।