झापा । मेचीनगर नगरपालिका– १४ दुवागढीस्थित मनषा थाइफुड्स (मगमग चाउचाउ उद्योग) मा लागेको आगो ८ घण्टा बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन।
चाउचाउ उद्योगमा शनिबार बिहान साढे ४ बजे लागेको आगो दिउँसो ३ बजेसम्म पनि नियन्त्रणमा नआएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीको कारण अझै खुल्न नसकेको र क्षतिको विवरण आई नसकेको बताइएको छ । आगो निभाउन झापासहित छिमेकी जिल्ला गरी १५ वटा दमकल आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ, तयारी चाउचाउ, मेसिनरी औजार र भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, दमकल कर्मचारी, सर्वसाधारण लगायतले आगो निभाउन सहयोग गरिरहेको बताइएको छ ।
एक अर्बको लगानीमा २०७५ असोजमा उद्योगको स्थापना भएको थियो। उद्योगमा स्व.परशुराम अग्रवाल, ओमप्रकाश अग्रवाल, बुद्धि घिमिरे, गणेश प्याकुरेल र अजय अग्रवालले संयुक्त लगानी गरेका छन्। उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले कुनै पनि सामान जोगाउन नसकिएको बताए।