बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी धरानका राई पक्राउ

न्युजलय ६ माघ २०७८, बिहिबार १०:३९ मा प्रकाशित

विराटनगर। बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान–४ पाँचकन्याका ३२ वर्षीय बिशाल राई रहेका छन्।

प्रतिवादी बिशाल राई भएको बैँकिङ कसुर मुद्धामा उच्च अदालत विराटनगरको २०७८ बैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैयाँ ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो। 

राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआईटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरेको हो।

पक्राउ परेका राईलाई बिहीबार सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा  अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ।