आजदेखि बैंक ३ बजे र सरकारी कार्यालय ४ बजेसम्म खुल्ने

न्युजलय १६ कार्तिक २०८०, बिहिबार ११:१८ मा प्रकाशित

काठमाण्डौ । विहीबारदेखि बैंकिङ समय अपराह्न ३ बजेसम्म कायम भएको छ । सँगै सरकारी कार्यालयहरु ४ बजेसम्म मात्र सञ्चालन हुन थालेका छन् ।


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक समयतालिका अनुसार आजबाट बैंकिङ समय १ घन्टा कम हुने भएको हो । 


राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय रहने तोकेको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म बैंकिङ समय हुनेछ । प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १२ः३० बजेसम्म बैंकिङ समय हुनेछ ।


यसैगरी राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ५ बजेसम्म बैंकहरुको कार्यालय समय रहने तोकेको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म कार्यालय समय हुनेछ।


उता सरकारी कार्यालयहरु पनि आजदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्।


सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ। सोहीअनुसार सरकारी कार्यालयहरु आजबाट अपराह्न ४ बजेसम्म मात्रै खुल्ने भएका हुन्। 


जाडोयाममा सरकारी कार्यालयको दैनिक सेवा समय १ घन्टा कम हुने प्रावधानअनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ। 


राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख १ गतेदेखि  कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।