उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा घरायसी विवादका क्रममा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँकी अन्दाजी ४५ वर्षीया बिमला राई रहेकी छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनका श्रीमान् अन्दाजी ५८ वर्षीय गन्दु राम राईलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका गन्दु रामले असोज ४ गते राति घरायसी विवादका क्रममा बिमलाको गर्दनमा धारिलो हतियार प्रहार गरेका थिए।
घटनापछि गन्दु राम आफैं अस्थायी प्रहरी पोष्ट माडिबासमा पुगेर घटनाबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको जनाएको छ।
घाइते बिमलालाई प्रहरी टोलीले तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार पुर्याएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।