अब उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार १२:४८ मा प्रकाशित

काठमाडौं । गोला प्रक्रियाबाट इजलास छान्ने प्रणाली अब उच्च र जिल्ला अदालतमा पनि कार्यान्वयन हुने भएको छ। सर्वोच्च अदालतमा बुधबार बसेको फुलकोर्टले माघ २ गतेदेखि जिल्ला र उच्च अदालतमा पनि गोला प्रक्रिया थाल्ने निर्णय गरेको हो।


सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले माघ २ गतेबाट उच्च अदालत र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने निर्णय भएको जानकारी दिए। उनले त्यसका लागि कानुनी व्यवस्था गर्न फुलकोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ। दाहालले भने, ‘जिल्ला अदालत नियमावली, २०७५ र उच्च अदालत नियमावली, २०७५ मा गोला प्रक्रियाबाट पेसी तोक्ने व्यवस्था लागू गर्न आवश्यक पर्ने संशोधन प्रस्ताव पेस गर्न फुलकोर्टले सर्वोच्च प्रशासनलाई निर्देशन दिएको छ।’


न्यायाधीश ईश्वर खतिवडाले गोला तानेर इजलास तोक्ने प्रक्रियाप्रति असहमति जनाएका छन्। बैठकमा पनि उनले न्यायाधीशको विवेकमाथि प्रश्न उठाउने गरी भएको गोलाप्रथाको विरोध गरेको स्रोतले जनाएको छ।