इटहरी । नेकपा एमाले प्रदेश १ कमिटीले एक महानगर सहित दुई उपमहानगरको नाम सिफारिस गरेको छ ।
कमिटीले विराटनगर महानगरबाट ५ जना, इटहरी र धरान उपमहानगरपालिकामा ४–४ जनाको नाम सिफारिस गरेको हो ।
इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको भने नाम सिफारिसमा परेन । उनी पुनः मेयर दोहोर्याउने दाउमा थिए ।
मंगलबार विराटनगरमा बसेको प्रदेश कमिटीका पदाधिकारी सहित स्थायी समिति सदस्यको बैठकले सिफारिस गरेको हो ।
नगर कमिटीबाट सिफारिस भएर आएको चौधरीको नामलाई प्रदेश कमिटीले हटाएको हो ।
इटहरीबाट नगर अध्यक्ष यामकुमार सुब्बा, हालकी उपमेयर लक्ष्मी कुमारी गौतम, तैयव हुसेन र रामप्रसाद चौलागाँईको नाम सिफारिस भएको छ ।
त्यस्तै उपमेयरमा सङ्गीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम अगाडी सारिएको छ।