धर्म परिवर्तनको मुद्दामा पाश्चरलाई दुई वर्ष कैद सजाय

न्युजलय १५ मङ्सिर २०७८, बुधबार ०१:१९ मा प्रकाशित

काठमाडौं । डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा अदालतले एक जनालाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।


जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पाश्चर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको हो ।


गत वर्ष आचार्यले बिरामी भएका दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार प्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो । उनलाई मुलुकी फौजदारी संहिताको दफा १५८ को उपदफा १, २ र ३ अनुसार अदालतले सजाय सुनाएको वैतनिक वकिल घनश्याम उपाध्यायले जानकारी दिए ।


आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पाश्चर हुन् । उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ । मुलुकी अपराध संहिताको दफा १५८ को (१) मा कसैले कसैको धर्म परिवर्तन गराउन र धर्म परिवर्तनको उद्योग गर्न नहुने उल्लेख छ ।


त्यस्तै कुनै धर्म परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न नहुने पनि उल्लेख छ ।