पहिचानवादीले गरे मेची राजमार्ग बन्द

न्युजलय १२ मङ्सिर २०८०, मङ्गलबार ०६:५१ मा प्रकाशित

झापा । झापाबाट इलामतर्फ जान लागेका सवारी साधनमा अवरोध भएको छ । पहिचानवादी समूहले मेची राजमार्गमा सवारी साधन बन्द गरेको हो ।

नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै पहिचानवादीहरूले सवारी साधन चल्न रोक लगाएका हुन् ।

आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै पहिचान पक्षधरले भट्टराईको गाडीमाथि आक्रमण गरेका थिए ।

उक्त घटनामा विपिन कङ्लिवा लिम्बू र आनन्द कङ्लिवालाई प्रहरीले पक्राउ गरेपछि बिना सर्त रिहाइको माग राखेर पहिचानवादीहरू आन्दोलनमा उत्रिएका हुन् ।

झापाको चारआलीदेखि इलामतर्फ जाने सवारीसाधनमाथि अवरोध पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बन्दका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ–फिदिम र फिदिम–इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधनमा अवरोभ भएको छ ।