मोरङमा बलात्कार घटना संलग्न तीन जना पक्राउ

न्युजलय १० पुस २०८१, बुधबार ०५:२६ मा प्रकाशित

मोरङ । मोरङमा युवतीमाथि बलात्कार भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कटहरी २ बस्ने १९ वर्षीय मोहम्मद रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार साह र भारतको अररिया जिल्ला कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार रहेका छन् ।

मंगलबार दिउँसो मोरङको कटहरी २ स्थितमा २३ वर्षीया युवती अचेत अवस्थामा भेटिएकी थिइन् । हात, खुट्टा बाँधिएको अवस्थामा उनी अचेत भेटिएपछि बलात्कार भएको हुनसक्ने आशंका गरिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकामध्ये रमजानले ती युवतीमाथि बलात्कार गरेको र अन्य दुईजनाले भने हात, खुट्टा बाँध्न सघाएको खुलेको छ ।

पीडित युवतीको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण लगाएतको कार्य भइसकेको र रिपोर्ट आएपछि थप अनुसन्धान हुने प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ परेका तीनैजनामाथि बुधबार जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरेको छ ।