‘फ्री फायर’ खेल्ने बहानामा १३ वर्षीया बालिका बलात्कृत

न्युजलय ७ बैशाख २०७९, बुधबार ०२:२८ मा प्रकाशित

काठमाडौं । अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा सम्बन्ध बनाई १३ वर्षीया बालिका बलात्कार गर्ने चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २७ वर्षीय महेश उदासलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनलाई मातातीर्थ क्षेत्रबाट आइतबार पक्राउ गरेको हो । 


प्रहरीका अनुसार उनले नाबालिकालाई पाल्पाबाट ल्याई बलात्कार गरेका थिए । बलात्कृत बालिकालाई प्रहरीले मातातीर्थबाट उद्धार गरेको थियो । अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । 


प्रहरीका अनुसार बालिका पाल्पास्थित घरमा बस्दै आएकी थिइन् । उनी अनलाइनबाट खेलिने गेम ‘फ्री फायर’ खेल्ने गर्थिन् । यही क्रममा उनको भेट महेशसँग भयो । महेशले उनलाई विभिन्न बहानामा फेसबुकमा साथी बनाए । त्यसपछि दुईबीच मेसेन्जर, भाइबर, ह्वाट्सएपमा च्याट तथा भिडियो कल हुन थाल्यो । करिब वर्षदिनको नियमित कुराकानीपछि महेशले बालिकालाई विवाहको प्रलोभन देखाएको प्रहरीले जनाएको छ । अनेक दबाबपछि बालिकाले महेशको प्रस्ताव स्वीकार गरिन् । महेश बालिकालाई लिन मोटरसाइकलमा पाल्पा पुगे र सुटुक्क लिएर काठमाडौं आए । 


अनुसन्धानमा संलग्न काठमाडौं परिसरका प्रवक्ता एसपी मैनालीले भने, ‘बालिकालाई उसले म्यासेन्जर, फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोग गरी अनेक प्रलोभन दिएको देखिन्छ । यही क्रममा विवाह गर्छु भनेर बालिकालाई लिन पाल्पा गएछ । काठमाडौं ल्याएर बलात्कार गरेको अनुसन्धानबाट देखिन्छ ।’ बालिका घरबाट एकाएक बेपत्ता भएपछि अभिभावकले पाल्पास्थित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । बालिका काठमाडौंमा भएको सूचनापछि जिप्रका पाल्पाले खोजी गर्न काठमाडौं परिसरलाई अनुरोध गरेको थियो ।