सप्तरीस्थित सप्तकोशी नगरपालिकाका ६ जना कर्मचारी भ्रष्टाचारी ठहर

न्युजलय २४ पुस २०८०, मङ्गलबार ०१:२९ मा प्रकाशित

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकाका ६ जना कर्मचारी भ्रष्टाचार ठहर भएका छन् । विशेष अदालतले उक्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र दाहाल र दुई प्राविधिक कर्मचारीलाई कैद सजाय सुनाएको हो।


दाहालले १५ लाख रुपैयाँको नोक्सानी हुनेगरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन वर्षअघि मुद्दा दायर गरेको थियो । दाहालसहित इन्जिनियर सुदीप चौधरी र सबइन्जिनियर रामकान्त चौधरीलाई तीन तीन महिना कैद सजाय सुनाइएको छ । साथै तीनै जनाबाट दामासाहीले उक्त रकम तिराउने फैसलामा उल्लेख छ।


दाहालले झन्डै १५ लाखको निर्माण कार्यमा आफ्नै एकल बोर्डको निर्णय गरी तीन भाग लगाई कोटेसनमार्फत तीन निर्माण व्यवसायीलाई दिएको उल्लेख छ । त्यो काम पनि ठेकेदारले गुणस्तरहीन गरेको पाइएको थियो । 


ठेक्का पाउने तीन कम्पनीका सञ्चालक पनि भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन्। राजकुमार यादव, नारायणप्रसाद यादव र श्यामकान्त चौधरीले नगरपालिकासँग सम्झौताविपरीत काम गरेको भन्दै जरिवाना तोकिएको छ । सञ्चालक चौधरीले चार लाख ९८ हजार र अन्य दुई ठेकेदारले चार लाख ९९ हजार रुपैयाँ प्रतिव्यक्ति जरिवाना बुझाउनुपर्नेछ। जनही जरिवाना तोकिएको रकमको दोब्बर असुलउपर गर्ने फैसलामा उल्लेख छ।