काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओरालो लागेको छ ।
बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१ डलरमा झरेको छ । गत जेठ १७ गते प्रतिब्यारेल १२४ डलर पुगेको थियो । त्यस्तै डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ९८ डलरमा झरेको छ ।
कच्चा तेलको मागमा सुस्तता आएसँगै भाउ घट्न थालेको हो । हालै अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको एक रिपोर्टले २०२२ को अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्ने चेतावनी दिएको छ ।
कच्चा तेलको मूल्यले अप्रत्यक्ष रुपमा नेपालीको भान्सासम्म प्रभाव पार्दछ । नेपाल आयल निगम (एनओसी) ले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट तेल खरिद गर्दै आएको छ ।
आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ । त्यही मूल्यसूचीका आधारमा एनओसीले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ गराउँछ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च समेत बढ्न गई दैनिक उपभोग्य वस्तुको भाउ समेत बढ्न जान्छ ।