काठमाडौँ । सरकारले अनलाइन टिभी सञ्चालनका लागि पाँच लाख रुपैयाँ दस्तुर तिरेर इजाजत लिनुपर्ने व्यवस्था गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेटमार्फत् सञ्चालन हुने अनलाइन टिभीको अनुमति लिनुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्रिय प्रसारण नियमावलीमा एघारौँ संशोधन गर्दै मन्त्रालयले यो व्यवस्था गरेको छ ।
नयाँ व्यवस्थाअनुसार अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) सञ्चालन इजाजतपत्रका लागि ५ लाख शुल्क तिर्नुपर्ने छ ।
यसअघि अनलाइन च्यानलका लागि अनुमति लिनुपर्ने व्यवस्था थिएन ।
पछिल्लो समय अनलाइन टिभी तथा युट्युब च्यानलमा प्रशारित सामाग्रीप्रति जनगुनासो बढेपछि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावली संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो ।
नियमावली २०७८ ले पहिलोपटक अनलाइन टिभी तथा युट्युब च्यानलहरूलाई नियमनको दायरामा ल्याएको हो ।