सरकार छाड्ने माओवादी र एकीकृत समाजवादीको निष्कर्ष

न्युजलय १३ फाल्गुण २०७८, शुक्रबार ०३:०५ मा प्रकाशित

काठमाडौं । पाँच दलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारमा सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन् ।


प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका छन्। तर सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसले सदनमा एमसिसी निर्णयार्थ प्रस्तुत भए विपक्षमा मत दिने निर्णय गरेका छन्। सरकारमै बसेर सरकारकै प्रस्तावको विपक्षमा उभिनु नैतिक मूल्य र मान्यताविपरीत हुने भएकाले ती दुई दल भावी दिनमा गठबन्धन कायम रहनेगरी सरकारबाट बाहिर निस्कने निष्कर्षमा पुगेका हुन्।

 

सरकारबाट बाहिरिएर विपक्षमा मतदान गर्ने तयारी यी दुई दलको रहेको माओवादीका ती नेताले बताए । तर नेकपा एसका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले यस्तो निर्णय नभइसकेको बताए । 


तत्काल सरकारबाट बाहिरिने विषयमा केही निर्णय भएको छैन। एमसिसी पास गर्ने विषयमा धेरै प्रक्रिया बाँकी छन् ।