ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

न्युजलय ७ फाल्गुण २०७८, शनिवार ०३:०९ मा प्रकाशित

काठमाडौं । मकवानपुरको शिखरकटेरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका २ शिखरकटेरीमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

शुक्रबार राति कान्तिलोकपथ अन्तर्गत पर्ने शिखरकटेरीमा अन टेष्ट ट्याक्टरबाट खसेर मकवानपुरगढी–२ का २१ वर्षीय सुशील विकको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

 

आफू चढेको ट्याक्टरबाट खसेका विकलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिए पनि चालकको भने फरार रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । फरार चालकको खोजी कार्य भइरहेको उनको भनाई छ । 


घटनाको विरोधमा अहिले स्थानीयले लोकपथ अवरुद्ध गरेका छन् । सम्भावित घटनालाई मध्यनजर गरेर घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।