इटहरीमा माओवादी उम्मेदवार नै एमालेमा प्रवेश

न्युजलय ११ फाल्गुण २०७८, बुधबार ०१:५९ मा प्रकाशित

इटहरी । गत स्थानीय निर्वाचनमा माओवादीबाट दलित वडा सदस्यकी उम्मेद्वार बनेकी कमला त्रिखत्री एमालेमा प्रवेश गरेकी छन् ।


नेकपा एमालेको वडा कमिटि अन्तर्गत इटहरी वडा नम्बर ४ आइतबारेमा अखिल नेपाल महिला संघ टोल कमिटी गठन कार्यक्रममा त्रिखत्री एमालेमा प्रवेश गरेको एमाले वडा नम्बर ४ वार्ड कमिटि अध्यक्ष सुनिल कार्कीले बताए।


त्रिखत्रीलाई कार्यक्रमकी प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले)केन्द्रिय कमिटी सदस्य एवं सहकारी बिभाग सह–इञ्चार्ज अमृता सुब्बा, केन्द्रिय सदस्य एवं इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।


नेकपा एमाले आइतबारे टोल कमिटी अध्यक्ष नारायण थापाको अध्यक्षता र अनेमसंघ टोल कमिटि तनुजा दाहाल अध्यक्षतामा गठन टोल कमिटि गठन गरिएको कार्कीले बताए।


कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्यहरु सर्वध्वज साँवा, चन्द्रप्रसाद भट्टराई, एमाले उपमहानगर कमिटि अध्यक्ष यामकुमार सुब्बालायतको उपस्थिती रहेको थियो।


तत्कालिन माओवादी नेताहरु भिम सुबेदी (सागर), डम्बर सुवेदी (हिमाल) सर्वोच्च अदालतले एमाले र माओवादीलाई छुट्याईदिएपछि एमालेमै बसेका थिए। त्यसपछि माओवादीका नेता कार्यकर्ताले पार्टी छोड्ने क्रम ह्वात्तै बढेको छ। यस्तै केहि समय अगाडी माओवादीको बुद्दिजिवी संगठनका अर्जुन उप्रेति अनि स्वस्थ्यकर्मी संगठनका खगेन्द्र ओलिले पनि माओवादी छाडेका छन् ।


यसैबीच तीनदिन देखि जारी एमाले इटहरी वडा नम्बर ४ को वडा अधिबेशन अरु १० दिन सम्म चल्ने भन्दै कार्कीले अधिबेशनमा जेष्ठ नागरिक सम्मान कार्यक्रम जारी रहेको बताए।


उनले नेकपा एमालेको बढ्दो लोकप्रियता देखेर अन्य पार्टी छाडेर एमालेमा समाहित हुने क्रम बढेको भन्दै पार्टी प्रवेश गर्नेहरुको लिष्ट तयार गर्दै गरेको बताए। वार्ड कमिटि अध्यक्ष कार्कीले कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टीका साथै माओवादी केन्द्रबाट र एकिकृत समाजबादी जानेहरु बाटो बिराएको भन्दै एमाले मै फर्कन लागेको भन्दै केहि दिनमै बृहत पार्टी प्रवेश कार्यक्रम राखेर उनिहरुलाई पार्टी प्रवेश गराईने बताए।