धितोपत्र बोर्डद्वारा ३ ब्रोकर कम्पनीलाई कारबाही

न्युजलय ४ माघ २०७९, बुधबार ०१:४६ मा प्रकाशित

काठमाडौँ । तोकिएको समयमा वार्षिक वित्तीय विवरण पेश नगर्ने धितोपत्र ब्रोकरहरुलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नगद जरिवानासहित कारबाही गरेको छ । जसअनुसार सनी सेक्युरिटिज कम्पनी लिमिटेडलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

उक्त कम्पनीले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) बमोजिम तोकिएको समयभित्र वार्षिक प्रतिवेदन पेस नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत नदिएकाले जरिवाना गरिएको सेबोनले जनाएको छ । 

यस्तै, त्रिशुल सेक्युरिटिज एण्ड इन्भेस्टमेन्ट लिमिटेड र इम्पेरियल सेक्युरिटिज कम्पनी पनि सेबोनको कारबाहीमा परेका छन् । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३५ को उपनियम (२) बमोजिम तोकिएको समय भित्र बोर्डमा आर्थिक वर्ष ०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेस नगरेको भन्दै ती कम्पनीहरुलाई बोर्डले कारबाही गरेको हो । 

धितोपत्र सम्बन्धी ऐन, २०६३ को व्यवस्था बमोजिम समयमाविवरण पेस नगर्ने ती कम्पनीलाई ७५ हजार रुपैयाँका दरले जरिवाना गरिएको बोर्डले जनाएको छ ।