प्यालेस्टिनी क्षेत्रमा इजरायलको हवाई आक्रमण, २० जनाको मृत्यु

न्युजलय ६ जेठ २०८१, आइतबार ०७:३५ मा प्रकाशित

काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको  छ ।

‘मध्य गाजाको अल–नुसिरात शरणार्थी शिविरमा रहेको हसन परिवारको घरलाई इजरायली हवाई आक्रमणले निशाना बनाएपछि २० जना मृत र धेरै घाइते अवस्थामा यहाँ ल्याइएको छ,’ अल–अक्सा शहीद अस्पतालको एक विज्ञप्तिमा भनिएको छ। 

प्रत्यक्षदर्शीका अनुसार ३  बजे स्थानीय समयमा आक्रमण भएको थियो। इजरायली सेनाले घटनाको रिपोर्ट जाँच गरिरहेको बताएको छ। 

प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वफाले घाइतेहरूमध्ये धेरै बालबालिका रहेका र उद्धारकर्ताहरूले भग्नावशेषमुनि फसेका व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।  

उत्तरी गाजाको जबालिया शिविरमा पनि प्यालेस्टिनी लडाकु र इजरायली सेनाबीच केही दिनदेखि झडप हुँदै आइरहेको छ।