धरानका प्रजितले अमेरिकी जोयसँग कसे लगनगाँठो

न्युजलय २५ असोज २०८१, शुक्रबार ०३:४९ मा प्रकाशित

धरान । धरानका प्रजित बुढाथोकी र अमेरिकी नागरिक जोय फोस्टर एलिस विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले कानुनअनुसार विवाह दर्ता मात्र गरेनन्, आगोलाई साक्षी राखेर हिन्दु संस्कारअनुसार नै विवाह गरे । 


बिहीबार काठमाडौंमा दुई ब्राह्मण पुरोहितले मन्त्रोच्चारणका साथ उनीहरुको विवाह गराएका थिए । लगत्तै क्रिस्चियन पुरोहितले वैवाहिक वाचा बधाएर हस्बेन्ड–हस्बेन्ड (पति–पति) भएको घोषणा गरेका थिए । 


त्यसअघि उनीहरुले असोज २० गते धरान उपमहानगरपालिकामा विवाह दर्ता गराएका थिए । 


पछिल्लो समय नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएपछि विवाह दर्ता र  विवाह सम्भव भएको हो । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले सरकारलाई ‘लैङ्गिक अल्पसंख्यक र गैर परम्परागत जोडी’ को विवाह दर्ता गर्न ‘छुट्टै रजिस्टर’ कायम गरी यस्ता विवाहलाई अस्थायी रूपमा दर्ता गर्न आदेश दिएका थिए ।


विवाहका लागि पशुपतिबाटै दुई पुरोहित ल्याइएको थियो । हिन्दु विधिबाट विवाह गरेपछि क्रिस्चियन धर्मअनुसार औँठी साट्दै गर्दा दुवै जना भावुक बनेका थिए । 


दुलाहाहरुको तर्फबाट पूर्व सांसद एवं समलिंगी समुदायका अभियन्ता सुनिलबाबु पन्तले पिताको भूमिका निर्वाह गरेका थिए । अमेरिकी दुतावासलेसमेत उनीहरुलाई बधाई दिएको छ ।


नेपालमा कामको सिलसिलामा आएका जोई र प्रजीतबीच दुई वर्षअघि भेट भई प्रेम सम्बन्ध गाँसिएको थियो । अहिले उनीहरू दुवैजना नेपालमा यौनिक अल्पसंख्यक समुदायको अधिकारका निम्ति काम गरिरहेका छन् । साथै नेपालमा उक्त समुदायको पर्यटनलाई बढाउन ट्राभल एजेन्सीसमेत सञ्चालन गरिरहेका छन् ।


पहिलो भने होइन

कतिपयले उनीहरुको विवाहलाई पहिलो समलिंगी विवाह भनेका छन् । तर यो पहिलो भने होइन । बरु हिन्दु र इसाई धर्म संस्कारअनुसार गरिएको वा नेपाली पुरुषसँग विदेशी पुरुषले गरेको पहिलो विवाह भने हो ।


सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिन सरकारलाई अन्तरिम आदेश दिएपछि लमजुङको दोर्दी गाउँपालिकाले गत वर्ष मंसिर १३ गते सुरेन्द्र पाण्डे र माया गुरुङको विवाह दर्ता गरेको थियो । 


त्यसपछि पाल्पाको रामपुर नगरपालिका वडा नं. ९ को कार्यालयमा नेपालकै पहिलो समलिंगी विवाहको दर्ता भएको थियो । जसमा पाल्पाका ३१ वर्षीय चिनाकुमारी नेपाली र पूर्वी नवलपरासीका ३६ वर्षीय ज्योति सार्कीले विवाह दर्ता गरेका थिए । उनीहरुले २०७८ साल असोज २९ गते विवाह गरेपनि दर्ता भने ढिलो मात्र गर्न पाएका थिए ।