खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन्। सोही गाउँपालिका–१ कुभिण्डे क ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा आज मृत भेटिएका हुन् ।
रेग्मी गोरेटो बाटोबाट करिब ८–९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टामाथि परेको अवस्थामा मृत भेटिएको बताइएको छ ।
मृतक रेग्मी गएराति दाजुको घरबाट करिब ८ः३० बजे हिँडेको जानकारी पाइएको वडाध्यक्षको भनाइ छ । उनको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
रेग्मीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाएर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
तत्कालीन कृषि विकास कार्यालय खोटाङ हुँदै कर्मचारी समायोजनका क्रममा रावाबेँसी गाउँपालिका पुगेका रेग्मीका श्रीमती, चार छोरी र एक छोरा छन् ।